हुण्डीको ९ लाख रकमसहित एकजना पक्राउ

वीरगंज, १२ चैत । वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ९ लाख रुपियाँँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ८ गहवाका ४४ वर्षीय अनिलकुमार साह रहेका छन ।

भारतको रक्सौलबाट वीरगंज नाका हुँदै नेपाल प्रवेश गरेको साहले हाँकेको ना २ प ९५८७ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले वीरगंज–१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडिको सडकमा रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रममा उक्त मोटरसाइकलको सिटकचर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली १ हजार दरका नोट ९०० थान बरामद भएको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिए।

बरामद उक्त रकमको श्रोत साहले खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।बरामद रकम हुण्डी कारोवारको हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।

बरामद रकम र मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको अधिकारीले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः