वीरगंज , १३ चैत्र –
बालेन्द्र शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि सो धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलोपटक हो भने मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलोपटक हो।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ गतेको निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव जित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरेका थिए।
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा स्वर्णिम वाग्ले अर्थमन्त्री, तेस्रो वरीयतामा सुधन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
त्यस्तै सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि तथा युवा खेलकुद मन्त्री बनेका छन्।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम रोजगार मन्त्री, सोविता गौतम कानुन मन्त्री बनेकी छन्।
त्यसैगरी गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री तथा सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्। नयाँ सरकारले अब सुशासन, आर्थिक सुधार र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।








