काठमाडौं, १३ चैत्र। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ।
यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ।
यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ।
आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो।
सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो।”
सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु–याउने काममा उत्सुक रहेको धारणा राख्नुभएको छ।
भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु–याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पनि नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गर्नुभएकामा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गर्नुभएको हो।
उहाँले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताउनुभयो। रासस









