ओली र लेखकलाई पक्राउ गर्न प्रक्रिया पूरा, सुरक्षा कडा

वीरगंज , १४ चैत्र –

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालय टेकुका एक उच्च अधिकारीले आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्।

ओली र लेखकको निवास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मी परिचालन भएका छन्।

नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए। प्रहरीले सरकारसँग लिखित आदेश माग गरेपछि मध्यराति कानुन मन्त्रालयका सचिवलाई प्रहरी मुख्यालय बोलाइएको थियो।

जेनजी आन्दोलन दमन घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो। प्रतिवेदनमा मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँ गरेर ज्यान लिएको कसुरअन्तर्गत कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ।

सरकारको निर्णयपछि कानुनी प्रक्रिया पूरा गरी पक्राउ पुर्जी जारी गरिएको र सोही आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः