पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

वीरगंज , १४ चैत्र –

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरी प्रहरी परिसर भद्रकाली ल्याइँदैछ।

नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा निकाय सक्रिय बनेका थिए। गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए।

प्रहरीले लिखित आदेश माग गरेपछि मध्यराति कानुन मन्त्रालयका सचिवलाई प्रहरी मुख्यालय बोलाएर आवश्यक प्रक्रिया पूरा गरिएको थियो। त्यसपछि पक्राउ पुर्जी जारी गरी लेखकलाई नियन्त्रणमा लिइएको हो।

यसैबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। जेनजी आन्दोलन दमनसम्बन्धी प्रतिवेदनमा ओली, लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत कारबाही सिफारिस गरिएको थियो।

उक्त दफाअनुसार लापरबाही र हेलचेक्र्याइँबाट ज्यान गएको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः