ओली पक्राउविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

वीरगंज, १४ चैत्र –

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी तथा राजनीतिक संघर्ष अघि बढाउने निर्णय गरेको हो। बैठकपछि पार्टी सचिव महेश बस्नेतले आज दिउँसो देशभर जिल्ला सदरमुकाममा जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने र भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय भएको जानकारी दिएका छन्।

उनका अनुसार एमालेले यस विषयमा अन्य राजनीतिक दलसँग पनि संवाद र सहकार्य गर्ने तयारी गरेको छ। यसैबीच अध्यक्ष ओली पक्राउको विरोधमा नेता तथा कार्यकर्ताले बिहान काठमाडौँको चाबहिल चोकमा विरोध प्रदर्शन गरेका छन्।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो। लेखक पक्राउको विषयमा के गर्ने भन्नेबारे नेपाली कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् भने परामर्शपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः