वीरगंज, १५ चैत्र –
पर्साको पर्सागढी नगरपालिका मा आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षीय विशनाथ सहनी लाई प्रहरीले हिजो पक्राउ गरेको हो।
सहनीले यही चैत १ गते आफ्नी पत्नी हरिकलादेवी सहनीमाथि धारिलो हतियार ‘दाउ’ प्रयोग गरी बायाँ खुट्टाको पैतालाभन्दा माथिल्लो भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको छ। घाइते महिलाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका सहनीलाई प्रहरीले खोजी अभियान सञ्चालन गरी पक्राउ गरेको जनाएको छ। उनलाई कहाँबाट र कसरी पक्राउ गरिएको तथा उनले किन यस्तो घटना गराएका हुन् भन्नेबारे विस्तृत जानकारी आज दिउँसो ३:३० बजे जिल्ला प्रहरी कार्यालय पर्सा ले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।








