वीरगंज , १६ चैत्र –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई मन्त्रालयमा खटाउने तयारी गरेको छ। विषय विज्ञता भएका सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाएर मन्त्रालयको काममा सहयोग गराउने तयारी गरिएको हो।
रास्वपाका प्रवक्ता मनिष झा ले मन्त्रालयमा सांसद खटाउने तयारी भइरहेको बताए। उनका अनुसार खटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ र गृहकार्य भइरहेको छ।
सांसद भविष्यका सम्भावित मन्त्रीसमेत हुने भएकाले मन्त्रालयमा काम गर्दा अनुभव र क्षमता अभिवृद्धि हुने रास्वपाको भनाइ छ। यसबाट मन्त्रालयको काम छिटोछरितो बनाउन सहयोग पुग्ने विश्वास पार्टीले लिएको छ। केही सांसदहरू भने आफ्नो विज्ञता रहेको मन्त्रालयमा पुगेर मन्त्रीलाई काममा सहजीकरण र सहयोग गरिसकेको पनि बताइएको छ।
प्रवक्ता झाका अनुसार सांसदसँगै पार्टीका केन्द्रीय विभागका सदस्यहरूलाई समेत मन्त्रालयमा खटाइने तयारी छ। जनभावनाअनुसार छिटो काम गर्न र मन्त्रालयको कार्यसम्पादन प्रभावकारी बनाउन यो अवधारणा अघि सारिएको उनले बताए।
२१ फागुनमा भएको निर्वाचनमा रास्वपाले ठूलो जनमत प्राप्त गर्दै सरकार गठन गरेको थियो। १३ चैतमा बालेन्द्र शाह को नेतृत्वमा सरकार बनेपछि सिंहदरबारमा सरकारको कामलाई तीव्र बनाउन विभिन्न छलफल र बैठकहरू भइरहेका छन्। प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल गरेपछि अहिले प्रदेशगत रूपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका छन्।









