वीरगंज,१७ चैत ।
नवनिर्वाचित सांसदद्वय हरि पन्त र सुशील साह कानुले जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलवार अनुगमन गर्दै सेवा प्रणालीको अवस्थावारे जानकारी लिएका छन् ।
नवनिर्वाचित सांसदद्वय हरि पन्त र सुशील साह कानुले जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलवार अनुगमन गर्दै सेवा प्रणालीको अवस्थावारे जानकारी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सेवाग्राहीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरुको गुनासो सुनेका थिए । सेवाग्राहीहरूले सामान्य कामका लागि समेत धेरै कोठा धाउनुपर्ने, एउटै फाइल स्वीकृत गराउन समय लाग्ने र प्रक्रियाहरू झन्झटिलो रहेको गुनासो गरेका थिए। लामो प्रतीक्षा र असहज वातावरणले सर्वसाधारणलाई हैरानी भइरहेको उनीहरूको भनाइ थियो।
त्यसपछि सांसदद्वयले प्रमुख जिल्ला अधिकारी भोला दाहाल सँग भेट गरी सेवा सुधारका विषयमा छलफल गरेका थिए। प्रजिअ दाहालले सेवा प्रवाहलाई सहज बनाउन प्रविधिको प्रयोग बढाइएको र प्रक्रिया सरलीकरणका लागि ‘एकद्वार प्रणाली’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन। बिचौलियाको प्रभाव घटाउने प्रयास भइरहेको पनि उनले बताए।
सांसद पन्त र साहले सरकारी कार्यालयमा जनताले दुःख पाउनु लोकतन्त्रको भावना विपरीत भएको उल्लेख गर्दै सेवा प्रणालीलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन जोड दिएका छन। सुधारका कदमहरूले सेवाग्राहीको समय बचत हुने र अपेक्षा अनुसारको सेवा पाउने विश्वास व्यक्त गरे ।









