सांसद शाक्यद्वारा विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन

परवानीपुर – पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले छिपहरमाई गाउँपालिका अन्तर्गत विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन गरेका छन्। स्थानीय तहमा सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनले स्वास्थ्य संस्था, प्रहरी चौकी तथा विद्यालयहरूको स्थलगत निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा वडा नं. ३ जयमंगलापुरस्थित स्वास्थ्य चौकीअन्तर्गतको बर्थिङ सेन्टरमा सुत्केरी कक्षमा ढोकाको अभाव रहेको पाइएको छ। त्यस्तै, नौ जना कर्मचारी दरबन्दी रहेको सो केन्द्रमा पाँच जना मात्रै उपस्थित भेटिएका थिए भने एक जना खोप कार्यक्रममा फिल्डमा गएकी थिइन्। एक जना कर्मचारी सरुवा भइसकेको र करार कर्मचारीहरूको म्याद गत पुसदेखि थप नभएको कारण उनीहरूको हाजिरीसमेत नभएको स्वास्थ्य चौकी इन्चार्ज प्रदीप दासले जानकारी दिएका छन्।

यसैगरी, वडा नं. २ स्थित बुढगाई प्रहरी चौकीको निर्माणाधीन भवनको समेत सांसद शाक्यले निरीक्षण गरेका थिए। करिब १७ लाख रुपैयाँ खर्च भइसकेको उक्त भवन निर्माणमा ढिलासुस्ती हुँदा सुरक्षाकर्मीहरू हाल बुढगाई विद्यालयमा बस्न बाध्य रहेको पाइएको छ। स्थानीयवासीले निर्माणमा ठेकेदारको लापरवाही भएको आरोप लगाएका छन्।

त्यसपछि उनले वडा नं. २ कै सम्झौता स्वास्थ्य चौकी, टिहुकी विद्यालय तथा नवगावा माध्यमिक विद्यालय चेरगाहा लगायतका संस्थाको पनि अवलोकन गरेका थिए। सम्झौता स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा इन्चार्ज चैत ९ गतेदेखि र सहायक इन्चार्ज चैत ५ गतेदेखि अनुपस्थित रहेको भेटिएको छ। साथै, बर्थिङ सेवा सञ्चालनका क्रममा प्रयोग हुने इन्भर्टर बिग्रिएको अवस्थामा रहेको र मर्मत गरेपछि सञ्चालनयोग्य हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

अनुगमनपछि सांसद शाक्यले सबै समस्याहरू टिपोट गरी सम्बन्धित जिम्मेवार व्यक्तिहरूसँग टेलिफोनमार्फत संवाद गरेका छन्। उनले देखिएका समस्या माथिल्लो निकायसम्म पु¥याउने प्रतिबद्धता जनाउँदै गाउँलेको गुनासोका आधारमा विशेष गरी स्वास्थ्य क्षेत्रको अनुगमन गरिएको बताए।

सांसद शाक्यले आगामी दिनमा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न विद्यालयहरूको समेत अनुगमन गर्ने योजना रहेको उल्लेख गर्दै क्षेत्र नं. ४ को शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू प्रतिबद्ध रहेको बताए। उनले आफ्नो जिम्मेवारीप्रति लापरवाही गर्ने कर्मचारीलाई सचेत गराउँदै पहिलो गल्ती क्षम्य भए पनि पटक–पटकको गल्ती कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्।

सम्बन्धित पोस्टहरुः