ठोरीको अधूरो अस्पताल र अव्यवस्थित खानेपानी टंकीको अनुगमन

वीरगंज, १८ चैत । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ मा अधुरो निर्माण कार्य भएको १५ शैयाको अस्पतालको सांसद टेकबहादुर शाक्यले अनुगमन गरेका छन् ।

स्थानीय बासिन्दाले “अस्पताल त छ, तर उपचार सेवा छैन, खानेपानी टंकी पनि छ, तर नियमित आपूर्ति छैन” भनी गुनासो गरेपछि नवनिर्वाचित सांसद टेकबहादुर शाक्य आज अनुगमनका लागि त्यहाँ पुगेका हुन् ।

अस्पताल निर्माणका लागि रू १७ करोड ४२ लाख बराबरको सम्झौता राजेन्द्र निर्माण सेवासँग २०७८ वैशाख २१ गते भएको थियो । समय–समयमा म्याद थपिए पनि २०८१ चैत २१ भित्र निर्माण पूरा गर्ने लक्ष्य पूरा हुन सकेको छैन, र हालसम्म काम अधुरो अवस्थामा छ ।

अनुगमनका क्रममा स्थानीयहरूले अस्पताल शीघ्र सञ्चालनमा ल्याउन सांसद शाक्यसँग आग्रह गरे । सांसदले भने, “केही दिनभित्र सम्बन्धीत कार्यालय, निर्माण कम्पनी र सरोकारवालासँग छलफल गरी ढिलासुस्ती र लापर्वाहीको कारण पत्ता लगाइ अस्पताल चाँडै सञ्चालनमा ल्याउने काम गर्छाैं ।”

त्यस्तै, वडामा रहेका खानेपानी आपूर्तिको व्यवस्थापन कमजोर भएको गुनासो अनुसार सांसदले सो आयोजनाको पनि निरीक्षण गर्नुभयो । उनले खानेपानी समितिका अध्यक्ष तथा वडाध्यक्ष अमृतकृष्ण सापकोटालाई भने, “जनताको खानेपानी अति संवेदनशील विषय हो । समितिले सचेत भएर काम गर्नुपर्छ। आवश्यक परेमा म केन्द्रबाट सहयोग गराउन सधैं तयार छु ।”

सांसद शाक्यले ठोरी क्षेत्रमा अन्य अधुरो आयोजना पनि छिट्टै अनुगमन गर्ने तयारी गरिरहेका छन् । स्थानीय जनताको गुनासोलाई ध्यानमा राख्दै, केही दिनभित्र सरस्वती माविको नमुना विद्यालयको अलपत्र भवनको निरीक्षण गर्ने योजना रहेको सांसद शाक्यले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्टहरुः