वीरगंज , १९ चैत्र –
वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति पूर्णता पाएको छ। वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ सदस्य मनोनित भएसँगै समिति पूर्ण भएको हो।
समितिका नवमनोनित सदस्यहरूमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार (गुप्ता), विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे, ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम र मनोज कुमार पटेल रहेका छन्।
आज आयोजित कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्दै समितिको पूर्णताले महानगरको सूचना प्रणाली अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै समितिसँगको सहकार्यलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।
समितिको मुख्य दायित्व महानगरपालिका र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय कायम गर्नु, सूचना पारदर्शी र समयमै जनतासम्म पुर्याउनु तथा नीति, नियमन र सुधारमा सुझाव दिनु रहेको छ।
समितिको गठनसँगै वीरगंज महानगरले सूचना प्रवाह प्रणालीलाई व्यवस्थित, जवाफदेही र जनमुखी बनाउँदै स्थानीय सरकारका गतिविधिहरूलाई विश्वसनीय ढंगले आमनागरिकसम्म पुर्याउने अपेक्षा गरिएको छ।









