वीरगंज , २२ चैत्र –
इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स ले गुजरात टाइटन्स लाई ६ रनले पराजित गरेको छ।
अहमदाबादमा भएको खेलमा राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो। राजस्थानका ध्रुव जुरेलले सर्वाधिक ७५ रनको योगदान दिए।
लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहँदै सातौँ स्थानमा रहेको छ।
यसअघि भएको अर्को खेलमा दिल्ली क्यापिटल्स ले मुम्बई इन्डियन्स लाई ६ विकेटले हराएको छ। १६३ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। लगातार दोस्रो जितसँगै दिल्ली ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने पहिलो हार बेहोरेको मुम्बई छैटौँ स्थानमा रहेको छ।









