वीरगंज , २२ चैत्र –
सङ्घीय संसद् नेपाल अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ।
आजको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति समेत रहेका अर्यालले शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गराएका थिए। सभामुख पदमा उनको एकल उम्मेदवारी परेको हुँदा आजको बैठकबाट औपचारिक रूपमा निर्वाचित भएको घोषणा हुने छ।
त्यसैगरी राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने र अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय ले जानकारी दिएका छन्।









