वीरगञ्ज, २२ चैत्र –
जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीलाई बिचौलियामुक्त, छिटो र सहज सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनामा पर्सा जिल्लाभित्रका सबै सरकारी कार्यालयबाट प्रवाह हुने सेवा बिचौलियामुक्त बनाउनुपर्नेमा जोड दिइएको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नियमित बनाउन सबै कार्यालय प्रमुखलाई अनुरोध गरिएको उल्लेख छ।
सूचनामा कार्यालय परिसर वा वरपर सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने तथा बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले सेवाग्राहीलाई कुनै पनि प्रकारको अवैध शुल्क नतिर्न र यस्ता गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेको छ।









