डेटा प्याक सकिए पनि अब पैसा कट्दैन

डेटा सकिए पनि अब पैसा कट्दैन

वीरगंज, २४ चैत –

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार नेपाल टेलिकम (एनटीसी) मा सेवा सुधारका कार्य तीव्र गतिमा अघि बढेका छन्।

सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि अब प्रयोगकर्ताको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त हुनेछ र ‘पे–एज–यू–गोज’ विकल्पबाट स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्ने सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत प्रयोगकर्ताले डेटा प्याक सकिएपछि सेवाको निरन्तरता वा नयाँ प्याक खरिद विकल्प छनोट गर्न सक्नेछन्।

एनटीसीका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार, यो सुविधा परीक्षण चरणमा रहेको छ र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। यूएसएसडीमार्फत खरिद गरिने प्याकमा तीन–पाँच दिनभित्र, मोबाइल एपमार्फत सेवाग्राहीले सातादेखि १० दिनभित्र सुविधा अनुभव गर्नेछन्।

साथै ‘वान टाइम केवाईसी’ प्रणाली लागू गरिनेछ, जसले ग्राहकले एकपटक पेश गरेको विवरण पुनः उपलब्ध गराउनुपर्ने झन्झट हटाउनेछ। ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणसमेत पूर्ण रूपमा अनलाइन उपलब्ध गराउने योजना छ।

नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि अघि बढाइएको छ, जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा सहज रुपमा उपलब्ध गराउनेछ।

मन्त्रालयका अनुसार फोरजी सेवाको गुणस्तर सुधारका लागि आवश्यक नीति संशोधन गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको छ, जसले इन्टरनेटको गति र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

डेटा प्याक खपत भएपछि स्वतः ब्यालेन्स कट्ने अभ्यास रोक्नु उपभोक्ता अधिकार संरक्षणतर्फको महत्वपूर्ण कदम मानिएको छ।

सम्बन्धित पोस्टहरुः