नेकपामा महाधिवेशनको विषयमा औपचारिक छलफल सुरु

वीरगन्ज, २३ चैत –

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा महाधिवेशनको विषय प्रवेश गरेको छ। संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा ६ महिनाभित्र महाधिवेशन गर्ने प्रस्ताव लिखित रूपमा राखेपछि औपचारिक छलफल सुरु भएको हो।

सोमबारदेखि पेरिसडाँडामा जारी बैठकमा नेताहरूले महाधिवेशन, निर्वाचन परिणाम समीक्षा र आगामी कार्यक्रमबारे धारणा राखेका छन्। नेता अग्नि सापकोटाका अनुसार, ‘महाधिवेशन गरी पार्टीलाई गति दिने र संगठनलाई चुस्त बनाउन छलफल भइरहेको छ।’

नेताहरूले फागुन २१ को निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुमा जनताको आक्रोश, कमजोर मुद्दा र संगठनको कम क्रियाशीलता मुख्य कारण भएको औंल्याएका छन्।

गत कात्तिकमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरणपछि दाहालले संयोजकको हैसियतले महाधिवेशन प्रस्ताव औपचारिक रूपमा अघि सारेका हुन्। प्रस्ताव अनुसार, ‘अबको ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्ने’ उल्लेख छ।

समीक्षा प्रतिवेदनमा पार्टी सुदृढीकरणका लागि सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कार्ययोजना बनाउने र पालिका तथा वडास्तरसम्म संगठन समायोजन र निर्माण गर्ने निर्देश पनि दिइएको छ।

सम्बन्धित पोस्टहरुः