भीषण सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु 

महोत्तरी – जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज बिहान भएको भीषण सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।

विपरीत दिशाबाट आइरहेका दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी यति तीव्र भएको थियो कि दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने नम्बर प्लेटसमेत पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ।

दुर्घटनामा परी तीन विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्। मृतकहरू एसईई परीक्षा दिएर घर फर्किने क्रममा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उक्त दुर्घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ।

हालसम्म मृतक तथा घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

सम्बन्धित पोस्टहरुः