नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको आज जनकपुरधाममा आयोजित सातौँ प्रदेशसभाको उद्घाटन समारोहमा उहाँले नीजि क्षेत्रलाई प्रोत्साहन र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री यादवले भन्नुभयो,“निजी क्षेत्रको सक्रियताबिना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले सरकारले नीतिगत सुधार र सहजीकरणमार्फत लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ ।”
मधेस प्रदेश, नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता औँल्याउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशबीचको सहकार्य र अनुभव आदानप्रदानले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सशक्त बनाउनु आवश्यक रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्यमा जोड दिँदै लगानी प्रवर्द्धनका लागि सहजीकरण गर्न स्थानीय तहले पनि आपश्यक भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै प्रदेशमा लगानीमैत्री वातावरण निर्माणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र र सरकारबीच समन्वय बढाउँदै आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी–व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत स्थिरता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
रासस








