गैरकानुनी गिरफ्तारीको आरोप: हजराको चेतावनी – ओलीलाई तुरुन्त रिहा गर

वीरगञ्ज— नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले तत्कालीन सरकारमाथि सिधा प्रहार गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई “गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण कदम” भन्दै तत्काल रिहाइको माग गरेका छन।
पर्सा जिल्ला कमिटीद्वारा वीरगञ्जको नगर सभा गृहमा आयोजित जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हजराले कडा शब्दमा भने, “ओलीमाथिको हमला कुनै व्यक्तिमाथि मात्र होइन, यो लोकतन्त्र र विधिको शासनमाथिको सीधा प्रहार हो।” उनले सरकारमाथि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्य लुकाएको आरोप लगाउँदै यस्तो कदमलाई “निन्दनीय र अस्वीकार्य” बताएका छन।

हजराले स्पष्ट चेतावनी दिए, “यो देशमा कानुनको राज चल्नुपर्छ, सत्ता र अहंकारको होइन। एमाले अन्यायका अगाडि कहिल्यै झुक्दैन—झन् सशक्त भएर उभिन्छ।

उनले कार्यकर्ताहरूलाई अब केवल विरोधमा सीमित नरही संगठन विस्तारमा जुट्न आह्वान गर्दै भने, “प्रत्येक वडा, प्रत्येक टोल र प्रत्येक युवासम्म एमालेको सन्देश पुग्नुपर्छ। संगठन सुदृढीकरण बिना राजनीतिक जित सम्भव छैन।

भेलामा उनले पार्टीभित्रका कमजोरीहरूलाई स्वीकार गर्दै सुधार गर्नुपर्नेमा जोड दिएका थिए। “अनुशासन, एकता र स्पष्ट दृष्टिकोणसहित अघि बढ्न सके मात्र एमाले बलियो शक्ति बन्छ,” उनले भने।

अन्त्यमा उनले सरकारलाई कडा सन्देश दिँदै भने, “प्रतिशोधको राजनीति तुरुन्त बन्द गर, अन्यथा जनताको बलले त्यसको जवाफ दिनेछ। अध्यक्ष ओलीको तत्काल रिहाइ हुनैपर्छ—यो हाम्रो माग मात्र होइन, जनताको आवाज रहेको नेता हजराले बताए ।

पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, जालिम मियाँ, जिल्ला सचिव महेश दास,मानदेव हजरा, सन्जु छतकुली लगायतकाले मन्तव्य राखेका थिए, भने कार्यक्रममा पोखरीयाका मेयर प्रधुम्न चौहान ,पर्सागढीका मेयर गोकर्ण पाठक ,बहुदरमाई नगरपालिका मेयर सिघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा, बिना शर्मा, शिव पटेल,वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अलि लगायत,अनिल हजरा, नेताहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए । 

सम्बन्धित पोस्टहरुः