वीरगंज, २६ चैत –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिनसमेत अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले दुई दिने बिदाका कारण बिरामी सेवामा असर नपरोस् भनेर अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो।
जनशक्ति र कामको चापअनुसार सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
यसका साथै सेवामा खटिने कर्मचारीलाई अन्य दिन बिदा मिलाउने वा सट्टा बिदा दिने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
प्रादेशिक अस्पतालहरूमा समेत सोहीअनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरिएको छ। मन्त्रालयले बिदाका दिनमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।








