उपसभामुख बनेकी छोरीले विदेशमा रहेका बुवालाई दिलाइन् खुसी

वीरगंज, २८ चैत –

प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित रुबीकुमारी ठाकुरको सफलताले वैदेशिक रोजगारीमा रहेका उनका बुवालाई विशेष खुसी दिएको छ।

धनुषाको सामान्य परिवारमा हुर्किएकी ठाकुरका बुवा शोगारथ ठाकुर लामो समयदेखि विदेशमा श्रम गर्दै आएका छन्।

परिवारको आर्थिक आधारका रूपमा उनले वर्षौंदेखि वैदेशिक रोजगारीलाई निरन्तरता दिँदै आएका थिए।

छोरी उपसभामुख बनेको खबर विदेशमै रहँदा सुनेका उनले हाल घर फर्किएपछि त्यसलाई नजिकबाट अनुभव गर्न पाउँदा अझै भावुक बनेको बताएका छन्। छोरीसँग फोनमा कुरा गर्दा आफूलाई विश्वास गर्नै गाह्रो भएको उनको भनाइ छ।

रुबीकुमारी ठाकुरले सामान्य पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरी छोटो समयमै संघीय संसदसम्मको यात्रा तय गरेकी हुन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनी अहिले उपसभामुख पदमा पुगेकी छन्।

उनले वैदेशिक रोजगारीले परिवारमा पार्ने प्रभाव आफूले नजिकबाट देखेकाले देशमै रोजगारी सिर्जना गर्न पहल गर्ने र सामाजिक कुरीतिविरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

बुवा शोगारथ ठाकुरले छोरीको उपलब्धिप्रति गर्व व्यक्त गर्दै उनी जनताको हितमा समर्पित भएर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः