वीरगंज, २९ चैत –
पर्सामा १२ वर्षीया नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका दुई जना घटना भएको १२ दिन बितिसक्दा पनि पक्राउ परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार डोकैला बहुअरीस्थित एक विद्यालयका २६ वर्षीय शिक्षक रूपेश यादव र २० वर्षीय लड्डु यादवविरुद्ध उक्त आरोपमा मुद्दा दर्ता भएको छ।
प्रहरीका अनुसार चैत १७ गते बालिकालाई ललाइफकाइ विभिन्न स्थानमा लगेर जबरजस्ती करणी गरिएको आरोप छ। घटनापछि चैत १८ गते पीडित परिवारले शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराएको थियो।
स्वास्थ्य परीक्षणपछि घटनाबारे अनुसन्धान अघि बढाइएको भए पनि मुख्य आरोपीहरू अझै फरार रहेका छन्।
गम्भीर प्रकृतिको घटनामा संलग्न आरोपितहरू लामो समयसम्म पक्राउ नपर्नुले सुरक्षा निकायको कार्यक्षमतामाथि प्रश्न उठाएको छ। प्रहरीले भने फरार रहेका दुवै व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ।








