भाउजुलाई कुटपिट नगरेको वडाध्यक्ष थारुको दाबी

वीरगंज, २९ चैत्र
पर्साको जिराभावानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुले आफ्नी भाउजु सुगान्धि देवीमाथि कुटपिट तथा दुव्र्यवहार नगरेको दाबी गरेका छन्।

आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भतिजी जानकी कुमारी र भाउजु सुगान्धि देवीमाथि कुनै किसिमको कुटपिट वा दुव्र्यवहार नगरेको स्पष्ट पारे।

उनका अनुसार शनिबार दिउँसो करिब ३ बजेको समयमा खेतमा गहुँबाली भित्र्याउने विषयमा विवाद भएको भए पनि आफू उक्त घटनास्थलमा उपस्थित नरहेको बताए।

भाउजु सुगान्धिले आफूलाई कुटपिट गर्नुका साथै जबर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ।

वडाध्यक्ष थारुले सञ्चारमाध्यमले पर्याप्त सत्य–तथ्य बुझ्न बिना समाचार प्रकाशन गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै दुःख व्यक्त गरे। यसैगरी वडा सचिव महेश राउत कुर्मीले पनि झुटा आरोपमार्फत वडाध्यक्षलाई फसाउन खोजिएको टिप्पणी गरेका छन्।

घटनाको पृष्ठभूमि
वडाध्यक्ष थारुका दाइ स्वर्गीय ब्रह्मानन्द दास थारुका दुई श्रीमती रहेका थिए। जेठी श्रीमती स्वर्गीय शिवा देवीबाट कृष्णदास थारु र उमेशदास थारु गरी दुई छोरा छन् भने कान्छी श्रीमती सुगान्धि देवीबाट एक छोरा अनिश दास र तीन छोरी रहेका छन्।

सुगान्धि देवीले खेतीपातीका लागि ६ बिघा जमिन प्रयोग गर्दै आएकी छन् भने अंशबण्डासम्बन्धी मुद्दा हाल पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको छ।

जानकारी अनुसार छोरीहरूको विवाहका क्रममा करिब अढाई बिघा जमिन शोधभर्ना राखिएको छ भने बाँकी जमिन बटैयामा दिइएको छ।

गत कार्तिकमा प्रहरी चौकी सुपौलीमा भएको सहमतिअनुसार धानबाली सुगान्धिले र गहुँबाली स्वर्गीय शिवा देवीका छोराहरूले लिने सहमति भएको थियो। तर उक्त सहमति विपरीत गहुँबाली भित्र्याउने विषयमा विवाद उत्पन्न भई झगडा भएको बताइएको छ।

सुगान्धिका ससुरा लक्ष्मी दास थारुले अंशबण्डाको मुद्दा टुंगो नलागेसम्म सबै पक्ष मिलेर बस्नुपर्ने सुझाव दिएका छन्।

सम्बन्धित पोस्टहरुः