वीरगंज, ३० चैत –
पोखराको लिचीबारी जग्गा प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी तथा प्रमाण बुझ्ने प्रक्रिया अघि बढाउने आदेश दिएको छ।
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध दायर मुद्दामा विशेष अदालतले थप सुनुवाइका क्रममा साक्षी प्रमाण संकलन गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज २२ गते दायर गरेको मुद्दामा तत्कालीन मन्त्री गुप्ताले पदको दुरुपयोग गरी घुस लिएको आरोप लगाइएको छ। आयोगका अनुसार विभिन्न चरणमा गरी करिब ७८ लाख रुपैयाँ बराबरको घुस लेनदेन भएको प्रमाण फेला परेको दाबी गरिएको छ।
सो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित मालपोत कार्यालयका तत्कालीन प्रमुख, घरजग्गा व्यवसायी तथा बिचौलियासमेत प्रतिवादी बनाइएको छ।
अदालतको आदेशसँगै अब साक्षी तथा प्रमाणको विस्तृत अध्ययनपछि मुद्दा अन्तिम निर्णयतर्फ अघि बढ्ने भएको छ।








