वीरगंज, ३० चैत –
वीरगंजमा एक युवकको योजनाबद्ध रूपमा हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार हिजो आइतबार दिउँसो करिब ४:४० बजे वीरगंज महानगरपालिका–११ रानीघाटस्थित फिरोज मियाँको घरमा उक्त घटना भएको हो। पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास कुमार चौरसियामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार विवाहेतर सम्बन्धको आशंकालाई आधार बनाएर उनलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको देखिएको छ। आरोपितहरूले पीडितकी श्रीमतीलाई फोन गराई कोठामा बोलाएको र उनी पुग्नासाथ आक्रमण गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनामा फलामको रड तथा धारिलो हतियार प्रयोग गरिएको थियो। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि चौरसिया अचेत अवस्थामा पुगेका थिए।
घटनापछि तत्कालै प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पठाएको थियो। तर उपचारकै क्रममा सोही दिन बेलुका करिब ७:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुर, विर्ता र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ। घटनास्थलको मुचुल्का तयार गरी थप प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि थप अनुसन्धान भइरहेको जनाएको छ।








