वीरगंज २ वैशाख । भारतबाट एक सय रुपियाँँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।
सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर नेपाल आयात गरिने सामग्रीमा नेपाल सरकारले भन्सारवापतको कर लगाएको छ । परिष्कृत नयाँ भन्सारको यात्री सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारमा नेपालीले किनमेल गर्दा एक सय रुपियाँँभन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यस अघि सीमानाका क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।
यसखालको नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सार विभागको दाबी छ । २०८२ जेठ १५ मा परिष्कृत रूपमा अर्थ मन्त्रालयले प्रकाशित गरेको यात्रीको भन्सार सुविधा अन्तर्गत यस्तो नियम आएको भन्सार विभागले जनाएको छ । यस अघि नै यस्तै प्रकृतिको नियम भए पनि कार्यान्वयन नहुँदा नेपाली उद्योगीरव्यापारी र बजार मर्कामा परेको गुनासो पछि परिष्कृत रूपमा कडाइको व्यवस्था गरिएको छ ।
मधेश प्रदेशको ८ वटै जिल्लासंग जोडिएको सीमावर्ती क्षेत्र अवस्थित सुरक्षानिकायले माइकिंग गरी एकसय रुपियाँँभन्दा बढी मूल्य बराबरको सामग्री नेपाल ल्याइएमा भन्सार वापतको शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने भन्दै सर्वसाधारणमा सूचित गरिएको छ । विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने, ‘नयाँ नियम राजपत्रमा आएसँगै हामीले मातहतका कार्यालयलाई यसवारे जानकारी गरायौं, अहिले कार्यान्वयन शुरू भएको छ,’ उनले भने, ‘नेपाल–भारत सीमामा भारततर्पmका बजारमा गरिने किनमेलमा एक सय रुपियाँँ भन्दा धेरै भयो भने त्यो भन्सार घोषणा गरेर मात्रै नेपाल ल्याउन पाइन्छ ।’ यात्रीले आफ्नो साथमा ल्याउन र लैजान पाउने मालवस्तु जाँच पास सम्बन्धी संशोधनको ५ नम्बर बुँदामा यस्तो व्यवस्था गरिएको छ । जसमा हवाई यात्रीले ल्याउन पाउने यात्री सुविधाका वस्तुहरूको कुनै पनि सुविधा स्थलमार्गका सर्वसाधारणलाई छैन । तर भारतीय सेनामा काम गर्ने सैनिक अधिकारी, भारत र चीनमा पढ्न जाने विद्यार्थीलाई भने कम्प्युटर र ल्यापटप ल्याउन भने सुविधा दिइएको छ ।
विभागले जनाए अनुसार नियमानुसार व्यक्तिगत प्रयोजनका लागि एक सय रुपियाँँसम्मका वस्तु ल्याउँदा पनि भन्सारले जाँच परीक्षण गर्नु पर्ने उल्लेख छ । तर विभाग अन्तरगतका मातहत कार्यालयहरूले भने एक सय रुपियाँँसम्मका वस्तुहरू ल्याउन दिने तर सो भन्दा बढीको वस्तुमा भन्सार लाग्ने भन्दै सूचना जारी गरेका छन् । विभागको निर्देशन लगत्तै भन्सार कार्यालयहरूले सूचना जारी गरेर भारतबाट नेपाल आउने यात्रीहरूले ल्याउन पाउने सामानवारे जानकारी गराएको छ ।








