वीरगंज, ३ बैशाख –
जिल्ला प्रहरी कार्यालय पर्साले चैत महिनाभरको प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम र फैसला कार्यान्वयनमा उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा १५२ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५८ वटा संगठित तथा आर्थिक अपराधसम्बन्धी छन्। विभिन्न घटनामा संलग्न १०२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनतर्फ ६८ फरार प्रतिवादी पक्राउ गरी १३ वर्ष ३ महिना २५ दिन कैद भुक्तान गराइएको छ भने १ करोड २३ लाख २० हजारभन्दा बढी जरिवाना असुल गरिएको छ।
राजस्व चुहावट नियन्त्रणतर्फ ५ करोड ४० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ। भन्सार छली, वन पैदावार र अन्य अवैध कारोबारसम्बन्धी सामग्रीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणमा ७ मुद्दा दर्ता भई १३ जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर र लागू औषधजन्य सामग्री बरामद गरिएको छ।
यसैगरी ७८ सवारी दुर्घटनामा २ जनाको मृत्यु र १२१ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट ९०९ सवारीसाधनलाई कारबाही गरी ११ लाखभन्दा बढी जरिवाना संकलन गरिएको छ।
घरेलु हिंसाका ६७ उजुरीमध्ये अधिकांशमा मिलापत्र गरिएको र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत हजारौँ नागरिकलाई लाभान्वित गरिएको प्रहरीले जनाएको छ।








