वीरगंज, ५ वैशाख –
जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा सक्रियता बढाएको जनाएको छ।
एक महिनामा १३२ वटा अपराध दर्ता हुँदा ९६ जना प्रतिवादी पक्राउ परेका छन्। ज्यान, चोरी, सवारी ज्यान तथा सामाजिक मुद्दासहित बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर मुद्दा दर्ता भएका छन्।
प्रहरीले १५ वटा पेन्डिङ मुद्दा फर्छ्योट गरेको छ भने फैसला कार्यान्वयनतर्फ ५ जनालाई पक्राउ गरी ८ वर्ष ४ महिना कैद भुक्तान गराएको र २० हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरीमध्ये २६–४० वर्ष उमेर समूहका पीडित बढी रहेका छन्। हराएका ३२ जनामध्ये १६ जना फेला परेका छन् भने घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ।
लागूऔषध नियन्त्रणमा ३७३.९५० केजी गाँजासहित अन्य पदार्थ बरामद गर्दै ८ जनालाई पक्राउ गरिएको छ। चैत महिनामा १८ जनाको मृत्यु भएको तथ्याङ्कले चिन्ता बढाएको छ, जसमा १६–३५ वर्ष उमेर समूह बढी प्रभावित देखिएको छ।
सुरक्षा व्यवस्थापनका लागि ९,२१० ड्युटीमार्फत १८,४२० जनशक्ति परिचालन गरिएको छ। सवारी दुर्घटनातर्फ ९६ घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
राजस्व चुहावट नियन्त्रणअन्तर्गत करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गर्नुका साथै ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।









