वीरगंज, ५ चैत्र –
पर्सामा सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ बजे वीरगंज–२२ परवानीपुरमा एकै दिशाबाट जाँदै गरेको ना ४१ प १६६१ नम्बरको मोटरसाइकललाई बी.आर ०६ जिडी ४९११ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा वीरगंज–२८ की मुर्ति देवी साह रहेकी छन्। घाइते मोटरसाइकल चालक उनका श्रीमान राजेन्द्रलाल साहको काठमाण्डौस्थित बीएनबी हस्पिटलमा उपचार भइरहेको छ।
सोही घटनालाई लिएर मृतकका परिवारले आज बिहान ७ बजेदेखि १० बजेसम्म सडकमा प्रदर्शन गर्दै चक्काजाम गरेका थिए।
स्थानीय प्रशासनले पीडित पक्षलाई उचित राहत दिने र घाइतेको उपचार व्यवस्था मिलाउने आश्वासन दिएपछि चक्काजाम खुलाइएको हो।
प्रहरीले ट्रक र चालक भारत बिहार बेतियाका २२ वर्षीय नितेश पासवानलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।








