वीरगन्ज, ५ वैशाख –
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज समाज सेवाले नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन गर्दै आएको साप्ताहिक नि:शुल्क भोजन कार्यक्रम दुई वर्ष सफलतापूर्वक पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। विगत दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि निरन्तर सञ्चालन भइरहेको यस अभियानमार्फत अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय, रिक्सा चालक तथा बटुवाहरूले लाभ लिँदै आएका छन्। घरमा तयार पारिएको जस्तै सफा, सुद्ध र पोषिलो भोजन खुवाइने यस कार्यक्रमले अस्पतालमा आउने सेवाग्राहीहरूलाई ठूलो राहत पुर्याएको छ।
तेस्रो वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष अशोक गुप्ताले विगत दुई वर्षदेखि प्रत्येक शनिबार करिब ४ सय ५० देखि ५ सय जनालाई सेवा दिँदै आएको जानकारी दिनुभयो। असहायको पेट भर्दा उनीहरूको अनुहारमा देखिने खुसीले आफूहरूलाई गौरवको अनुभूति हुने बताउँदै उहाँले समाजका अन्य व्यक्तिहरूलाई पनि हातेमालो गर्दै मानवीय सेवामा जुट्न आग्रह गर्नुभयो। साथै, उहाँले यस अभियानलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार र शुभेच्छुकहरूप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभयो।
संस्थाका सचिव प्रकाश वाहेतीले ‘कोही भोको नरहोस्’ भन्ने उद्देश्यका साथ दुई वर्षअघि माइस्थान मन्दिरबाट सुरु गरिएको यो अभियान हाल नारायणी अस्पताल जस्तो विपन्नहरूको उपचार स्थलमा निरन्तर अघि बढिरहेको स्मरण गर्नुभयो। आजको कार्यक्रममा वृद्ध, महिला तथा बालबालिकाहरूलाई विशेष प्राथमिकता दिँदै शुद्ध शाकाहारी भोजन अन्तर्गत भात, दाल, आलु-कोभीको तरकारी, अचार र काँक्रो खुवाइएको थियो। अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव प्रकाश वाहेती, लालबाबु सिंह, बिरेन्द्र आर्य, निशान्त लाठ, देवव्रत आर्य लगायतका अभियन्ताहरूले उपस्थित भई सेवा प्रदान गर्नुभएको थियो।








