बारा- पचरौतामा ग्यासको कालोबजारी गर्ने एक सञ्चालक र भारतीय तस्कर पक्राउ परेका छन्। बाराको पचरौता नगरपालिका वडा नम्बर ४ बेल्दारीस्थित जैसवाल ट्रेडर्सका सञ्चालक रविन्द्र जैसवालले संकटको फाइदा उठाउँदै ग्यासमा चर्को मूल्य असुलेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा प्रहरी चौकी बेल्दारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल यादवको कमान्डमा खटिएको टोलीले जैसवाललाई भारतको बिहार राज्य, पूर्वी चम्पारण जोलगवाका ग्यास तस्करहरूसँग लेनदेन गरिरहेको अवस्थामा फेला पारेको थियो। नेपालमा हाल प्रति आधा सिलिन्डर ग्यासको मूल्य १,००५ रुपैयाँ कायम भए तापनि सञ्चालक जैसवालले भारतीय तस्करहरूसँग मिलेर प्रति सिलिन्डर १,५०० रुपैयाँसम्म लिई अवैध रूपमा बिक्री गरिरहेको पुष्टि भएको छ।
पक्राउ परेका जैसवाल र भारतीय तस्करहरूलाई नियन्त्रणमा लिई थप कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरौनगढ पठाइएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई बहाना बनाएर स्थानीय स्तरमा सर्वसाधारण ठग्ने र तस्करीलाई प्रश्रय दिने यस्ता गिरोहमाथि प्रहरीले निगरानी बढाएको छ।



