रौतहट – अन्नपूर्ण सुगर एन्ड जनरल उद्योग, धनकौल, सर्लाहीले उखु खरीद गरेबापतको रकम वर्षौं बितिसक्दा पनि नतिरेपछि स्थानीय उखु किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । किसानहरू २०७४ सालदेखिको बक्यौता रकम अझै नपाएको भन्दै निरन्तर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
रामनगर नगरपालिका निवासी किसान लालबाबू साहका अनुसार उनले २०७४ सालमा आफ्नै खेतमा उत्पादन गरेको उखु उक्त मिललाई बिक्री गरेका थिए । तर हालसम्म पनि सो उखुको भुक्तानी प्राप्त नभएको उनले बताएका छन् ।
साहले मिल व्यवस्थापनले पटक–पटक भुक्तानी गर्ने आश्वासन दिए पनि व्यवहारमा कुनै ठोस प्रगति नभएको गुनासो गरे । उनका अनुसार, मिलका पूर्वसञ्चालक राकेश अग्रवालले उद्योग शैलेन्द्र गुप्तालाई बिक्री गरेपछि नयाँ सञ्चालक पक्षले मिल सञ्चालनमा आएपछि सबै बक्यौता रकम तिर्ने आश्वासन दिएको थियो । तर हालसम्म रकम नदिइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।
यो समस्या लालबाबू साहको मात्र नभई सो क्षेत्रका धेरै उखु किसानको साझा समस्या बनेको छ । लामो समयसम्म आफ्नो मेहनतको मूल्य नपाउँदा किसानहरू आर्थिकरूपमा प्रभावित भएका छन् ।
किसानहरूले सम्बन्धित निकायसँग तत्काल बक्यौता रकम उपलब्ध गराउन र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कडा पहल गर्न माग गरेका छन् ।


