बिजुली सर्टका कारण पर्सागढीमा आगलागीः दुर्ई घरमा करिब २० लाखभन्दा बढी क्षति

पर्सागढी, ६ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ६ स्थित सिउटोल–चैनपुर क्षेत्रमा आइतवार अचानक आगलागी हुँदा दुर्ई परिवारको घरमा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दाको तत्परतापूर्ण सूचना र सक्रियताका साथै पर्सागढी नगरपालिकाको वारूणयन्त्र (दमकल) को सहयोगमा आगो समयमै नियन्त्रणमा लिइएको छ।

वीरबहादुर पासवान र कमल पासवानको घरबाट शुरू भएको आगलागी विद्युत तार सर्ट भई अचानक फैलिएको थियो। आगलागीका कारण दुवै घरमा रहेका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत दैनिक उपभोगका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन। साथै नागरिकता लगायतका महŒवपूर्ण कागजातहरू समेत जलेर नष्ट भएको जनाइएको छ।
क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार वीरबहादुर पासवानको घरमा करिब ८ लाख १५ हजार रुपियाँँ बराबरको क्षति भएको छ भने कमल पासवानको घरमा करिब १२ लाख २४ हजार रुपियाँँ बराबरको क्षति पुगेको नगरप्रमुख गोकर्ण पाठकले जानकारी दिए। यसरी कुल क्षति करिब २० लाख रुपियाँँभन्दा बढी पुगेको अनुमान गरिएको छ।
घटनाको खबर पाउनासाथ नगरप्रमुख गोकर्ण पाठक, विपद् व्यवस्थापन शाखा प्रमुख देवकुमार गिरी, वडा सदस्य प्रभुप्रसाद यादव लगायतको टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेको थियो। सो क्रममा पीडित परिवारलाई तत्काल राहतस्वरूप खाद्यान्न सामग्री उपलब्ध गराइएको नगरप्रमुख पाठकले बताए। साथै थप राहत तथा सहयोगका लागि आवश्यक पहल गरिने समेत उनले उल्लेख गरे।
पछिल्लो समय अत्यधिक गर्मी बढ्दै जाँदा पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा आगलागीका घटनामा वृद्धि भइरहेको भन्दै नगरप्रमुख पाठकले सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन। उनले विद्युत उपकरण तथा तारहरूको नियमित जाँच गर्न, खुला आगोको प्रयोगमा सावधानी अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेका छन।
स्थानीयवासी, सुरक्षाकर्मी तथा नगरपालिकाको समन्वयमा ठूलो क्षति हुनबाट जोगिएको भए पनि आगलागीबाट प्रभावित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ।
सम्बन्धित पोस्टहरुः