वीरगंज, ७ चैत्र –
गृहमन्त्री सुधन गुरुङ ले आफ्नो नाम जोडिएको सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरू खण्डन गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीको निर्णय स्वीकार गर्ने बताएका छन्।
२५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप अस्वीकार गर्दै उनले आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढी लगानी स्पष्ट रूपमा उल्लेख गरिएको जिकिर गरेका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणमै समेटिएको भन्दै यो वर्गीकरणको विषय मात्र भएको बताएका छन्।
उनले मन्त्री बन्नुअघि नै सेयर खरिद गरिएको र त्यसको स्रोत २०८० भदौ २९ गतेको कर्जासँग सम्बन्धित रहेको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको दाबी गरेका छन्। विवादित भनिएका व्यक्तिसँग साझेदारीको आरोपलाई अस्वीकार गर्दै एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले त्यसलाई व्यक्तिगत साझेदारी मान्न नमिल्ने बताएका छन्।
गृहमन्त्री गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछिका घटनाका आधारमा अघिल्लो निर्णयलाई दोषी ठहर गर्नु उचित नहुने बताए।
स्वार्थको द्वन्द्वसम्बन्धी विषयमा भने छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयअन्तर्गतको निकायबाट भइरहेको जानकारी दिँदै आफूबाट कुनै हस्तक्षेप नभएको दाबी गरेका छन्। साथै, प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्न सबैलाई आग्रह गरेका छन्।



