भट्ट समूहको लघु बीमामा सेयर लगानीले गृहमन्त्री अनुसन्धानको राडारमा, ‘स्रोत पुष्टि गर्नुपर्छ’

काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट समूहको अगुवाइमा खुलेका दुई वटा लघु बीमा कम्पनीमा ५० लाख रुपैयाँको संस्थापक सेयर रहेको खुलेपछि गृहमन्त्री सुधन गुरुङ अनुसन्धानको राडारमा परेका छन्।

उच्च स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सुधनको नाममा विवादास्पद व्यापारी भट्टको कम्पनीको संस्थापक सेयर देखिएपछि यसलाई गम्भीर रुपमा लिंदै उनलाई अनुसन्धानको राडारमा राख्नुपर्ने पक्षमा उभिएका छन्।

‘सेयर किन्न प्रयोग भएको स्रोत पुष्टि हुनुपर्छ। त्यो पुष्टि नहुनु भनेको अवैध आर्जन हो,’ रास्वपाका एक नेताले बिजमाण्डूसँग भने, ‘कुनै पनि व्यक्तिमाथि प्रश्न उठेपछि त्यसका बारेमा अनुसन्धान हुनुपर्छ भन्ने मान्यतामा पार्टी सभापतिज्यू हुनुहुन्छ।’

ती नेताका अनुसार विधिको शासन स्थापित गर्न आएको र जनतासँग त्यही आधारमा निर्वाचित भएकाले अनुसन्धानमा सघाउनुपर्नेमा रास्वपाको शीर्ष नेतृत्व स्पस्ट छ।

‘दीपक साहलाई आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्त गरेको विषयलाई लिएर श्रम मन्त्रीबाट हटाइएको थियो। त्यो बेला पनि प्रधानमन्त्री बालेन शाह र पार्टी सभापतिबीच छलफल भएर नै निर्णय लिइएको हो,’ ती नेताले भने, ‘अहिले गृहमन्त्रीसँग जोडिएको विषय अझ गम्भीर हो। यसमा पनि निर्णय लिन द्विविधा छ जस्तो लाग्दैन।’

स्रोतका अनुसार लघु बीमा कम्पनीमा सेयर लगानी रहेको खुलेपछि गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई भेटेर आफूमाथि मिडिया ट्रायल भएको गुनासो गरेका छन्।

‘ठूला व्यापारी पर्ने भएपछि मिडिया ट्रायल गरेर मलाई फसाउने प्रयत्न गरिएको हो। उनीहरु बच्नका लागि मेराविरुद्ध तानाबाना बुनिएको हो,’ सुधनलाई उद्यृत गर्दै स्रोतले भन्यो।

गृहमन्त्री गुरुङले आफ्नो बचाउ गर्न खोजेपछि लामिछानेले सेयर लगानीको स्रोत देखाउनुपर्ने बताएको स्रोतले बतायो।

सुधनको नाममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा २५ हजार र स्टार माइक्रो इन्स्योरेन्समा २५ हजार कित्ता सेयर छ। उनले चैत २९ गते सार्वजनिक गरिएको सम्पत्ति विवरणमा यी दुई कम्पनीमा रहेको ५० हजार कित्ता सेयर खुलाएका थिएनन्।

सम्पत्ति विवरणमा दुई कम्पनीको सेयर लुकाएका सुधन त्यसको विस्तृत बाहिरिएपछि आइतबार राति ने रास्वपा सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।

सुधन राजनीतिमा आउनुअघि हामी नेपाली संस्थामार्फत ‘परोपकारी’ काममा संलग्न थिए। भूकम्पपछि ‘समाजसेवा’मा लागेका भनिएका सुधनलाई कोभिडकालमा विवादास्पद व्यापारी भट्टको इन्फिनिटी होल्डिङ र शंकर समूहले सघाएका थिए।

हामी नेपाली संस्थाको पहिलो साधारण सभाका अवसरमा बारबरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतलाई बोलाएर इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल र प्रबन्ध निर्देशक साहिल अग्रवाललाई सम्मान गर्न लगाइएको थियो।

दीपक भट्ट र साहिल अग्रवाल
भूकम्पपछि स्थापना भएको यो संस्थाले कोभिडको समयमा अक्सिजन प्लान्ट र स्वास्थ्यकर्मीलाई सुरक्षाका सामग्री वितरण गरेको थियो।

कोरोनाको दोस्रो लहरमा इन्फिनिटी होल्डिङस् र शंकर समूहले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र तीन हजार के-९० मास्क दिएका थिए।

यस्तै शंकर समूह र इन्फिनिटी होल्डिङले सुदूरपश्चिममा कोभिड बिरामीलाई लक्षित गर्दै अक्सिजन र बेड दिएका थिए। दुवै व्यवसायिक संस्थाले सुदूरपश्चिमलाई ५० हजार एन ९० मास्क र दुई सय पीपीइ सेट उपलब्ध गराएका थिए।

सम्बन्धित पोस्टहरुः