वीरगंज , ८ वैशाख –
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँभन्दा ९ प्रतिशतले बढी हो।
भन्सारका अनुसार चालु वर्षमा १६ अर्ब २० करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो। लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिए। गत वर्ष सोही अवधिमा ८० प्रतिशत मात्रै संकलन भएको थियो।
चैत महिनामा मात्रै २२ अर्ब ८२ करोड रुपैयाँ (९५ प्रतिशत) राजस्व संकलन भएको छ, जुन गत वर्षको चैतको १९ अर्ब ९८ करोड रुपैयाँ (८१ प्रतिशत) भन्दा बढी हो। फागुनमा १९ अर्ब ३४ करोड र माघमा १८ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धि र राजस्व चुहावट नियन्त्रणका कारण पछिल्ला महिनामा राजस्व संकलनमा सुधार आएको भन्सारले जनाएको छ।



