वीरगंज , ८ बैशाख-
देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लू) को जोखिम अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले पर्सि बिहीवारसम्म तराईका केही जिल्लामा लू चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री तथा काठमाण्डौमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
मौसमविद् विनु महर्जनका अनुसार पूर्वी क्षेत्रमा शनिवारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ भने मधेससहित अन्य जिल्लामा ‘अद्यावधिक रहनु’ चेतावनी दिइएको छ।
विभागले दिउँसो अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो स्थानमा बस्न, हल्का कपडा लगाउन तथा प्रशस्त पानी पिउन सुझाव दिएको छ।
तातो हावाका कारण थकान, टाउको दुख्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।



