ओमानसँग पहिलो खेलमा नेपाल ‘ए’ ७० रनले पराजित

वीरगंज , ९ बैशाख –

ओमानसँगको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली ७० रनले पराजित भएको छ ।

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २१० रनमै समेटियो । नेपालका ईशान पाण्डेले ५२ रन र कप्तान अनिलकुमार साहले ५० रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । ओमानका सकील अहमद र हसनैन अली शाहले ३/३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २८० रन बनाएको थियो । ओमानका मुजिबुर अलीले ७२ रन र जतिन्दर सिंहले ५८ रनको योगदान गरे । नेपालका आकाश चन्दले ४ विकेट लिए ।

यससँगै शृङ्खलामा ओमानले १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शुक्रबार हुनेछ । त्यसपछि नेपाल ‘ए’ टोलीले स्कटल्यान्ड र संयुक्त राज्य अमेरिकासँग पनि खेल्ने तालिका छ ।

सम्बन्धित पोस्टहरुः