मधेशमा बाल स्वास्थ्य, शिक्षा र पोषण अवस्था कमजोर

मधेश , ९ बैशाख

मधेश प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन दर तथा विद्यालयबाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनकपुरमा सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रदेशस्तरीय प्रतिवेदनले नवजात शिशु मृत्युदर प्रतिहजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको देखाएको छ ।

कुपोषणको अवस्था पनि गम्भीर रहेको छ । उमेरअनुसार तौल कम भएका बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका ३१.१ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १ देखि ५ सम्म ९.२ प्रतिशत, कक्षा ६ देखि ८ सम्म ८.२ प्रतिशत र कक्षा ९ देखि १२ सम्म २२.६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका छन् । प्रारम्भिक बाल शिक्षामा सहभागिता दर २६.३ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य सेवातर्फ ७०.४ प्रतिशत महिलाले मात्र चार पटक पूर्वप्रसूति जाँच गराएको र स्वास्थ्य बीमाको पहुँच महिलामा ६.६ प्रतिशत तथा पुरुषमा ३.९ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ ।

यद्यपि आधारभूत सेवामा केही प्रगति देखिएको छ । ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच, ९४.७ प्रतिशतमा टेलिफोन र ७८.९ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

९९ प्रतिशत घरपरिवारले सुधारिएको खानेपानी प्रयोग गरे पनि ६५ प्रतिशत पानीमा इ–कोली जीवाणु भेटिनु गम्भीर सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा देखिएको छ ।

सम्बन्धित पोस्टहरुः