बारामा हुन लागेको ‘इज्तिमा’ कार्यक्रमबारे सुरक्षा चासो, प्रशासनलाई कडाइ गर्न माग

वीरगंज , ९ बैशाख –

विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थपिन सक्ने भन्दै प्रशासनलाई सतर्कता अपनाउन आग्रह गरेको छ। परिषद्ले जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विदेशी नागरिकहरूको प्रवेश र गतिविधिमा निगरानी बढाउन माग गरेको हो।

परिषद्का अनुसार आगामी वैशाख ११ देखि १४ गतेसम्म जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजना हुने कार्यक्रममा पाकिस्तान, बंगलादेश लगायतका मुलुकबाट सहभागी आउने तयारी रहेको सूचनाका आधारमा सुरक्षा चासो व्यक्त गरिएको हो। पत्रमा अवैध रूपमा विदेशी नागरिक नेपाल प्रवेश गर्ने तथा कार्यक्रमपछि नफर्किने सम्भावनाप्रति ध्यानाकर्षण गराइएको उल्लेख छ।

यसैबीच, प्रशासन पक्षले यस्ता अन्तर्राष्ट्रिय सहभागिता रहने कार्यक्रमहरूमा आवश्यक सुरक्षा व्यवस्था, कानुनी प्रक्रिया र निगरानीलाई प्राथमिकतामा राख्ने जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायहरू समन्वयमा रहने र कुनै पनि अवैध गतिविधि हुन नदिन आवश्यक कदम चालिने अधिकारीहरूको भनाइ छ।

धार्मिक स्वतन्त्रताको सम्मान गर्दै शान्तिपूर्ण रूपमा कार्यक्रम सम्पन्न गराउने र साम्प्रदायिक सद्भाव कायम राख्ने दुवै पक्षको साझा दायित्व रहेको सरोकारवालाहरूले बताएका छन्।

सम्बन्धित पोस्टहरुः