तेस्रो लिङ्गी समूह होटलभित्र पसेर वैवाहिक कार्यक्रममा तोडफोड

वीरगंज, ९ बैशाख । भिस्वा होटेलको एक वैवाहिक समारोहमा मङ्गलवार राति तेस्रो लिङ्गीहरूको समूहले उपद्रव मच्चाएको छ । राति १ बजे होटेलमा चलिरहेको एउटा वैवाहिक समारोह विवाद सिर्जना गरेको थियो । तेस्रो लिंगी समूहले होटेलको मुख्य गेटमा ढुङ्गामुढा र तोडफोड गरी जबर्जस्ती भित्र प्रवेश गरेको थियो । होटेलभित्र पसेपछि उनीहरूले अशोभनीय व्यवहार प्रदर्शन गर्दै जन्ती र पाहुनाहरूलाई त्रसित बनाएका थिए ।

विवाहमा सहभागी महिलाहरूका अनुसार एक्कासि आएको तेस्रो लिंगीको समूहले गहना लुट्ने र कुटपिट गर्ने प्रयास गरेको बताए । केही घण्टासम्म विवाह मण्डप रणमैदान जस्तै बनेको थियो ।
स्थिति नियन्त्रण बाहिर गएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । शुरूमा प्रहरीले सम्झाउन खोजे पनि उक्त समूहका व्यक्तिहरू उल्टै प्रहरीमाथि नै हातपातमा उत्रिएका थिए । त्यसपछि थप मद्दत मगाएर प्रहरीले लाठीचार्ज गरी समूहलाई तितरबितर पारेको थियो । प्रहरीले उपद्रवमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।
वीरगंजको बाइपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगीले सर्वसाधारणलाई रोकेर लुटपाट गर्ने, कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने घटना वारम्वार भइरहे पनि प्रशासनले प्रभावकारी कदम नचालेको स्थानीयको आरोप छ ।
सम्बन्धित पोस्टहरुः