वीरगंज , १० बैशाख –
वीरगंज महानगरपालिका वडा नं. ३१ अन्तर्गत लक्ष्मीपुर नजिक रहेको शिव पार्वती मन्दिरमा आज प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको छ।
वडाध्यक्ष जितेन्द्रप्रसाद यादवको व्यक्तिगत लगानीमा करिब ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको मन्दिरमा विधिवत रूपमा प्राण प्रतिष्ठा गरिएको हो। उनले आफू निर्वाचित हुनु अघि नै व्यक्तिगत लगानीमा मन्दिर निर्माण सुरु गरेको र कुनै पनि बाह्य आर्थिक सहयोग नलिएको बताएका छन्।
कार्यक्रमको अवसरमा भोलि बिहानदेखि २४ घण्टे अष्टजामसमेत आयोजना हुने जानकारी दिइएको छ। प्राण प्रतिष्ठा अघि वडाका विभिन्न टोलहरूमा परिक्रमा कार्यक्रम गरिएको थियो।
वडाध्यक्ष यादवले मन्दिर आफ्ना बुवाआमा तथा परिवारको नाममा निर्माण गरिएको बताए। स्थानीय बासिन्दाको सहभागितामा धार्मिक वातावरणमा कार्यक्रम सम्पन्न भएको छ।


