बारा , १० बैशाख –
बाराको कलैया उपमहानगरपालिका–१० मटियर्वाकी प्रीति कुमारी शाहले बाराको कानुनी इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छिन्। उनी नेपाल कानुन व्यवसायी परिषद्को परीक्षा उत्तीर्ण गर्दै जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन्।
किसान तथा शिक्षक परिवारमा जन्मिएकी प्रीति गाउँकै सरकारी विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्दै निरन्तर संघर्षका बीच अगाडि बढेकी हुन्। उनले यसअघि अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर (डबल मास्टर्स) पूरा गरी आफ्नो शैक्षिक क्षमता प्रमाणित गरिसकेकी थिइन्।
कानुन क्षेत्रमा प्रवेश गर्ने उद्देश्यले एलएलबी अध्ययन पूरा गरेकी उनले कठिन परीक्षा पार गर्दै अधिवक्ता बन्न सफल भएकी हुन्। उनको यो उपलब्धिलाई जिल्लामा ऐतिहासिक मानिएको छ।
स्थानीयवासीका अनुसार प्रीतिको सफलताले ग्रामीण क्षेत्रका बालिकाहरूका लागि उच्च शिक्षाको प्रेरणा प्रदान गरेको छ। उनले भविष्यमा विशेष गरी महिला अधिकार, लैङ्गिक हिंसा नियन्त्रण तथा न्यायमा पहुँच विस्तारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।



