सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघ बाराको आपत्ति

वीरगंज , ११ बैशाख –

नेपाल पत्रकार महासंघ बारा शाखाले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारा पुगेको टोलीले उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेपको संज्ञा दिँदै सच्याउन माग गरेको हो।

महासंघले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै यसले साना तथा मध्यम सञ्चारमाध्यम आर्थिक संकटमा पर्ने र सूचना प्रवाहमा असन्तुलन आउने चेतावनी दिएको छ।

ज्ञापनपत्रमा सबै सञ्चारमाध्यमलाई समान रूपमा विज्ञापन वितरण गर्न, पारदर्शी तथा समावेशी नीति ल्याउन माग गरिएको छ। कार्यक्रममा केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रदेश सदस्य साजिर मन्सुर लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः