वीरगंज , ११ बैशाख –
वीरगंज बचाउ संघर्ष समिति ले सडक विस्तारका क्रममा घर भत्काइएका प्रभावित घरधनीहरूको पक्षमा मुआब्जा र उचित क्षतिपूर्तिको माग गरेको छ।
समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विस्थापित परिवारका लागि तत्काल राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो।
यसअघि आर्दशनगर क्षेत्रबाट प्रभावित घरधनीहरूले नाराबाजीसहित नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रदर्शनकारीहरूले सडक विस्तारका क्रममा उचित व्यवस्थापनबिना घर भत्काउँदा आफूहरू विस्थापित भएको भन्दै राज्यले तत्काल क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग दोहोर्याएका छन्।


