पोखरिया नगरपालिकाको खाताबाट करिब ७ करोड गायब

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा आर्थिक अनियमितता र प्रशासनिक बेथितिबारे गम्भीर आरोप सार्वजनिक भएका छन्। उपप्रमुख रूवि ठाकुरले नगरको खाताबाट करिब ७ करोड रुपैयाँ बराबरको रकम गायब भएको दाबी गरेकी छन्।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त रकम नगरप्रमुख प्रयुक्त चौहान को एकल निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा अपारदर्शी रूपमा खर्च गरिएको हुन सक्ने आशंका व्यक्त गरिन्।

उपप्रमुख ठाकुरका अनुसार सशर्त अनुदानअन्तर्गत आएको ठूलो रकम पारदर्शी रूपमा खर्च नभएको देखिएको छ। उनले नगरपालिकामा करिब ११ महिनादेखि कर्मचारीहरूले तलब नपाएको, जनप्रतिनिधिहरूले भत्ता नपाएको तथा ठेकेदारहरूको भुक्तानीसमेत रोकिएको अवस्था रहेको बताइन्। यसले नगरको समग्र प्रशासनिक र आर्थिक प्रणाली अस्तव्यस्त बनेको उनको भनाइ छ।

उनले नगरप्रमुखले सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गर्दै एकल रूपमा आर्थिक निर्णयहरू गर्दै आएको आरोपसमेत लगाइन्। यसले नगरपालिकाभित्र पारदर्शिता र सुशासनमा गम्भीर प्रश्न उठेको छ।

यसैबीच, युवा संघ नेपाल पर्साका सचिव राकेश महतोले एक महिना अघि आय–व्यय विवरण सार्वजनिक गर्न माग गर्दै निवेदन दिएका थिए। तर त्यसमा कुनै कारबाही नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।नगरपालिकामा आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पनि पटक–पटक छानबिन गरेको बताइए पनि ठोस कारबाही नदेखिएको भन्दै स्थानीयस्तरमा असन्तोष चुलिएको छ।

लामो समयदेखि देखिएको आर्थिक विवाद, कर्मचारीको तलब रोकिएको अवस्था र ठेकेदारको भुक्तानी नहुँदा नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ।

सम्बन्धित पोस्टहरुः