वीरगंज , १२ बैशाख –
राष्ट्रिय विभूति सीता को उत्पत्ति दिवस आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ।
हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने यस पर्वमा सीतालाई जानकी, वैदेही, जनकनन्दिनी लगायत विभिन्न नामले स्मरण गर्ने परम्परा रहेको छ। विशेषगरी मिथिला क्षेत्रमा आज ‘जानकी नवमी’का रूपमा उत्सव मनाइँदैछ।
धर्मशास्त्रविद् तोयराज नेपाल का अनुसार आदर्श नारीका रूपमा सीताको भूमिकाले सम्पूर्ण नारी समुदायलाई सम्मानित बनाएको छ। यस्तै, मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णव ले सीता मिथिलाकी छोरी भएकाले यो पर्व विशेष महत्वको भएको बताए ।
आजको दिन व्रत बस्ने, रामायण वाचन गर्ने तथा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने परम्परा रहिआएको छ।



