प्रहरीमाथि बयान फेर्न लगाएको आरोप, एसपी भन्छन्—‘आरोप निराधार, अनुसन्धान जारी’

वीरगंज, १२ वैशाख

पर्सामा एक नाबालिकामाथि भएको अपहरण तथा जबर्जस्ती करणी प्रकरणमा पीडित परिवारले प्रहरीमाथि गम्भीर आरोप लगाएको छ। प्रहरीले न्याय दिनुको सट्टा थप पीडा दिएको भन्दै परिवारले असन्तुष्टि व्यक्त गरेको हो।

शुक्रबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पीडित बालिकाका बुवाले चैत १७ गते सखुवाप्रसौनी गाउँपालिकामा १२ वर्षीया छोरीमाथि भएको घटनाबारे जानकारी दिँदै प्रहरीले सोधपुछको बहानामा बयान फेर्न लगाएको, जबर्जस्ती कागजमा सही गराएको तथा आरोपीलाई पक्राउ गर्न उदासीनता देखाएको आरोप लगाए।

उनका अनुसार उक्त घटनामा संलग्न भनिएका २० वर्षीय लड्डु यादव र २६ वर्षीय रुपेश यादव हालसम्म फरार रहेका छन्। प्रहरीमा मुद्दा दर्ता भई अनुसन्धान तथा फरार प्रतिवादीको खोजीकार्य जारी रहे पनि प्रहरीको व्यवहारले आफूहरू झनै पीडित बनेको उनले बताए।

पीडित परिवारका अनुसार घटना भएको तीन दिनपछि बालिकाका ८८ वर्षीय हजुरबुवाको तनावका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि निधन भएको थियो। साथै, घटनालाई ढाकछोप गर्न केही स्थानीय जनप्रतिनिधिहरूले दबाब र धम्की दिएको आरोपसमेत परिवारले लगाएको छ।

बालिकालाई विद्यालयबाट फर्कने क्रममा मोटरसाइकलमा लगेर घटना घटाइएको दाबी गरिएको छ। जाहेरी दर्ता भए पनि आरोपी पक्राउमा ढिलाइ भएको परिवारको भनाइ छ।

त्यस्तै, प्रहरी कार्यालयमा बयानका नाममा बालिकालाई रातभर राखिएको तथा अपमानजनक व्यवहार गरिएको आरोप पनि परिवारले सार्वजनिक गरेको छ। घटनामा केही प्रभावशाली व्यक्तिको चलखेल रहेको आशंका व्यक्त गर्दै पीडित पक्षले न्यायका लागि अन्तिमसम्म संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ।

प्रहरीको प्रतिक्रिया
यस विषयमा प्रतिक्रिया दिँदै पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र यसबारे धेरै बोल्न नमिल्ने बताए।

पत्रकार सम्मेलनपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “घटनाक्रमको विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ, त्यसैले अहिले धेरै बोल्नु उपयुक्त हुँदैन।”

पीडित परिवारले लगाएका आरोपहरू निराधार रहेको दाबी गर्दै उनले अनुसन्धान पूरा भएपछि तथ्यका आधारमा दोषीमाथि कारबाही गरिने स्पष्ट पारे।

पत्रकारहरूसँग करिब एक घण्टा भएको छलफलका क्रममा पनि एसपी पाठकले निष्पक्ष अनुसन्धान भइरहेको दोहोर्‍याएका थिए।

सम्बन्धित पोस्टहरुः