बारा, १३ वैशाख । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत पर्ने काँटगाउँमा मुआब्जा वितरण भइसकेपछि पनि जग्गा खाली गराउन समस्या देखिएको छ।
विमानस्थलको चारकिल्लाभित्र पर्ने काँटगाउँँका ११२ घरधुरीमध्ये अधिकांशले २०७४ सालदेखि नै मुआब्जा बुझिसकेका छन। मुआब्जा पाएका धेरै स्थानीयले कोल्हवी तथा आसपासका क्षेत्रमा घरजग्गा समेत किनिसकेको विमानस्थल कार्यालयले जनाएको छ।
तत्कालीन समयमा करिब ७० बिघा जग्गाको चलनचल्तीको मूल्यांकनका आधारमा मुआब्जा वितरण गरिएको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्य सडकसँग जोडिएको जग्गालाई प्रतिकठ्ठा ४ लाख ६० हजार, सहायक बाटोसँग जोडिएकोलाई ३ लाख ३९ हजार २५० र खेतलाई २ लाख ४१ हजार रुपियाँँका दरले मुआब्जा दिइएको थियो।
टाँगियाबस्ती संघर्ष समितिका संयोजक रमेश सापकोटाका अनुसार अधिकांशले मुआब्जा बुझेर नयाँ घर बनाइसके पनि हालसम्म पुरानो बस्ती पूर्ण रूपमा खाली गरिएको छैन। “१० वर्षअघि नै मुआब्जा लिएका धेरैले नयाँ ठाउँमा घर बनाइसकेका छन्, तर यहाँको जग्गा अझै खाली भएको छैन,” उनले बताए।
विमानस्थलको चारकिल्लाभित्र काँटगाउँँ, टाँगियाबस्ती र मटियानी गरी करिब २ हजार घरधुरी बसोबास गर्ने क्षेत्र पर्छ। तीमध्ये केही निजी जग्गामा बसोबास गर्नेबाहेक अन्यले सहजनाथ साझेदारी तथा राष्ट्रिय वन क्षेत्रको जग्गा भोगचलन गर्दै आएका छन।
अन्तर्राष्ट्रिय विमानस्थल सिमरा कार्यालयका कार्यवाहक प्रमुख विजय यादवका अनुसार सरकारले घरसारसम्बन्धी स्पष्ट निर्णय र ‘छुटपुर्जी’ उपलब्ध गराउन नसक्दा मुआब्जा पाइसकेकाहरूलाई पनि स्थानान्तरण गर्न समस्या भएको हो।
उनले घरसारको अनुमति प्रक्रिया अघि बढाउन सम्बन्धीत निकायमा फाइल पठाइएको भए पनि प्रदेश तहबाट काम अघि नबढ्दा प्रक्रिया अवरूद्ध भएको बताए। साथै, पछिल्लो समय सर्वाेच्च अदालतको आदेशअनुसार पुरानो चारकिल्ला बदर गरी नयाँ चारकिल्ला प्रमाणीकरणपछि मात्र घरसारको निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
डिभिजन वन कार्यालय बाराले समेत घरसारको इजाजत रोक्का गरिएकाले हाल काँटगाउँँ खाली गराउन नसकिएको जनाएको छ।


